Friday, February 4, 2011

बदलिँदो समय र करिअर काउन्सिलिङ



बिहानको साढे तीन बजिरहेको थियो । मोबाइल फोनको घण्टीले म उठ्न बाध्य भएँ । निदाएको केही समयमात्र भएको थियो । बिहान सबेरै उठ्नुपर्ने भएपछि निन्द्राले पनि निहुँ खोज्ने कुरामा धेरैको विमती नहुन सक्छ । अर्धनिन्द्रामै संवाद गर्ने मेरो बानी नौलो भने होइन । फोन भने नेपालबाट भर्खरै अमेरिकाका लागि पढ्ने भिसा पाएर अमेरिका आउने तयारी गरिरहनुभएका एकजना साथीले गर्नु भएको रहेछ । ई–मेलमार्फत हाम्रो परिचय भएको थियो । प्रसंग भने हामी विद्यार्थीहरूकै भविष्यसँग सम्बन्धित करियर काउन्सिलिङको थियो ।


भविष्यको सुन्दर सपना बुन्दै गरेका ती साथीले मलाई अमेरिका आएर अब म के पढ्ने भन्ने प्रश्न गर्दै थिए । म एकछिन अकमक्कै परें । सायद उनी मबाट केही सुझावको अपेक्षा गर्दै थिए । उनीसँग संवाद गरेपछि भने मेरो निन्द्रा पर्न गाह्रो भयो । मेरो मानसपटलमा केवल एउटै कुरा घुमिरह्यो । वास्तवमै हामी नेपाली युवाहरूको यो एक जटिल समस्या हो कि भविष्यमा के पढेर के बन्ने भन्नेबारे धेरै युवाहरू अनभिज्ञ छन् ।


विकसित मुलुकहरूका दुतावासहरूबाट मलिन अनुहार लिएर फर्किएका र भिसा प्राप्त गरेर उड्ने तयारी गरिरहेका अनि स्वदेशमै पढेर केही बन्ने चाहना गरेका विद्यार्थीहरू सबैका लागि उत्तिकै महत्वपूर्ण छ, करिअर काउन्सिलिङ । विशेषतः एसएलसी पछिको पाठ्यक्रममा समावेश भए विद्यार्थीको भविष्य निर्माणमा सहयोग हुने कुरामा कसैको पनि दुई मत नहोला । सरकारको शिक्षा नितीलाई दोष लगाएर आँफू पन्छिन मिल्ने अवस्था भने निजी क्याम्पसहरूलाई अवश्य छैन । सरकारकै मुख ताक्ने हो भने शिक्षा स्तरको त के कुरा जनतको मुखमा माड लगाउने सम्मको ग्यारेण्टी छैन । सत्ता, सरकार अनि समीकरण तीन ‘स’ मा सिमित हाम्रो देशको प्रशासनले केवल सोझा जनतालाई सोझै झुक्याएको सबैलाई सजिलै थाहा हुन्छ । ‘स’ को भुमरीमा रुमलिएको शिक्षाकेन्द्रीत सरकारी निकाय विद्यार्थीहरूको भविष्यप्रति संवेदनशील भने पटक्कै देखिँदैनन् ।




एउटा विद्यार्थीले भविष्यमा के पेसा अपनाउने भन्ने निर्णय आँफैमा एक जटिल र महत्वपूर्ण सवाल हो । बेलैमा निर्णय गर्दा धेरै समय खेर नजानुका साथै आप्mनो लक्ष्य प्राप्त गर्न समेत सहयोग मिल्ने कुरामा सायदै असहमती हुन सक्छ । त्यसको ठीक विपरीत समयमै उचित निर्णय लिएर लक्ष्य प्राप्तिको पथमा नलाग्ने हो भने आप्mनो जीवनको अमूल्य समय त्यसै खेर जानुका साथै आर्थिक उन्नतीमा समेत ठेस पुग्ने देखिन्छ । अझै गलत निर्णयले त काममा जाँगर नआउने, ईच्छाशक्ति मर्ने हुनुका साथै देशको समग्र अर्थतन्त्रले नै घाटा व्यहोर्नुपर्ने कुरा नकार्न सकिन्न ।


हाल नेपालमा यस्ता करिअर काउन्सिलिङका काम केवल निजी प्रयासबाट संचालित केही कन्सल्टेन्सीहरूले मात्र गर्दै आइरहेका छन् । विदेशमा पढ्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरेर सुरुवात भएता पनि अहिले भने सबै विद्यार्थीहरू यसबाट लाभान्वित भएको पाइन्छ । सरकारी एवम् निजी शैक्षिक संस्था दुवैबाट दश जोड दुई बराबरको पढाई सकेपछि स्नातक तहमा आँफू के पढ्ने भन्ने विषयको अन्यौल धेरैलाई रहने कुरा नौलो भने पक्कै होइन । एसएलसीको पाठ्यक्रममा यी कुराहरू समावेश गर्न सके धेरै विद्यार्थीहरूको भविष्य निक्र्यौलमा महत्वपूर्ण उपलब्धी हासिल हुने बताउँछिन्, साउथ डेकोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत पोखरेली छात्रा अन्जु थापा । उनको विचारमा यस्ता कार्यक्रमहरूले शैक्षिक बेरोजगारी कम हुनुका साथै देशले दक्ष जनशक्ति उत्पादन गर्न समेत टेवा पुग्नेछ ।


विश्वका कैयौं मुलुकहरूले शिक्षा क्षेत्रमा गरेको लगानी र त्यसका उपलब्धीहरू हेर्ने हो भने अमेरिका अग्रपंक्तीमा आउँदैछ । यस्तो विकसित शिक्षा स्थितीको पछाडि कुनै जादुको छडी नभएता पनि यसबाट हामी नेपालीले सिक्ने थुप्रै कुराहरू छन् । यहाँको शिक्षा प्रणाली हेर्ने हो भने हामी सबैजसो शैक्षिक संस्थामा एक वा एकभन्दा बढी काउन्सिलिङ सेन्टरहरू भएको पाउँछौं । यस्ता करिअर काउन्सिलिङ सेन्टरहरूले पढाईका क्रममा पर्ने समस्याहरूका समाधानका उपायहरूका साथै अनेकौं सल्लाहहरू दिई विद्यार्थीहरूको पढाइप्रति तृष्णा जगाउने काम पनि गर्दछन् । त्यसैगरी उनीहरू विद्यार्थीहरूको भविष्यप्रति सँधै चिन्तित रहनुका साथै विभिन्न अध्ययनमुलक परीक्षाहरूमा विद्यार्थीहरूलाई सामेल गराएर भविष्यमा अलि नै भित्री मनदेखि इच्छा गरेको पेसा या व्यवसाय रोज्नको लागि मद्दत गर्दछन् ।


आँफू विद्यार्थीहरूको मुहारमा सधैं हाँसो अनि भविष्यमा केही बन्नको लागि मनोबलसहित उचित सल्लाह दिने काममा सन्तुष्ट अनि हर्षित भएको बताउँछिन्, युनिभर्सिटी अफ टेक्सस आर्लिङटन स्थित युनिभर्सिटी एडभाइजिङ सेन्टरकी निर्देशक जेनेट किन । उनले अजकालका वैज्ञानिक प्रयोगले गर्दा आप्mना विद्यार्थीहरूको मनोभावना बुझ्न सहज भएको र त्यसै अनुरुप उचित सल्लाह दिन पनि मद्दत मिलेको भन्दै खुशी प्रकट गरिन् । दिनहुँ आप्mना समस्याहरू लिएर आँफू सामू आउने गरेका विद्यार्थीहरूको मुहारको हाँसो फर्काउने दृढ प्रयास आप्mनो रहने पनि निर्देशक किनले बताइन् ।


भौतिक शाष्त्रकी प्राध्यापक डा. भोइला रकले कक्षामा पढाउने क्रममा आँफू गतवर्ष नेपाल भ्रमण गरेको कुरा सुन्दा खुशी लाग्यो । हुन पनि उनको भौतिक शाष्त्रको कक्षामा पचास प्रतिशत भन्दा बढी विद्यार्थी नेपाली नै हुने गरेको उनले बताइन् । हुन सक्छ त्यसैको अभिप्रायले उनलाई नेपाल भ्रमण गर्न प्रेरित ग¥यो । नेपाल भ्रमणका क्रममा उनीलाई लोडसेडिङ र यातायातको निकै समस्या भएकाले सबै नेपाली विद्यार्थीलाई इन्जिनियर बन्ने सुझाव उनको थियो । देश पुनर्निर्माण गर्नुपर्ने कुरा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई थाहा भने पक्कै छ । त्यसैले पनि धेरै नेपाली विद्यार्थीहरू इन्जिनियरिङ विषयको अध्ययनमा आकर्षित भएको बताउँछन्, बायो इन्जिनियरिङका विद्यार्थी कुशल पोख्रेल । आँफूलाई करिअरको बारेमा त्यति जानकारी एवम् सल्लाह नेपालमा पाउन गाह्रो भएकै कारण एम.बि.ए. का लागि अमेरिका आए पनि यहाँको उचित सल्लाह पाएर आँफू इन्जिनियरिङ पढ्नमा आकर्षित भएको उनी भन्छन् ।


वास्तवमै शिक्षा क्षेत्रको विकास आजको प्रमुख अवश्यकता हो । यस्तो देशको विकाससँगै जोडिएको अनि विद्यार्थीहरूको भविष्य निक्र्यौल गर्ने करिअर काउन्सेलिङलाई केही चासोका साथ हेरी पाठ्यक्रमको रुपमा विकास गर्न सके देशको मुहार फेर्न केही मद्दत अवश्य पुग्ने थियो । यसका लागि सरकार निजी शैक्षिक संस्था अनि अभिभावक लगायत संयम विद्यार्थीहरू नै जागरुक हुनुपर्ने देखिन्छ ।

(लेखक कार्की अमेरिकास्थित युनिभर्सिटी अफ टेक्सस, अर्लिङ्टनमा औद्योगिक इन्जीनियरिङ विषयमा अध्ययनरत छन् l


(It was published on NEWS MART DAILY, Pokhara Nepal )


6 comments:

Santosh Koirala said...

An interesting observation indeed!!! Keep it up Suman!!!

Santosh Koirala said...

Really loved the picture!!

suman said...

thank you santosh dai...

Saurav Ojha said...

Very nice heading and nice post. keep it up.

Lok Bahadur Thapa said...

love this post...

Anonymous said...

nice article...enjoyed it....hi...visit www.ktmtube.com for great nepali movies, videos and music...youtube of Nepal!!